here

“साथ, भरोसा र उज्यालोको नाम– इन्द्रप्रसाद तिमल्सना”

इन्द्रप्रसाद तिमल्सना मेरो जीवनयात्रामा भेटिएका सामान्य मानिसहरू मध्ये पर्दैनन्; उनी त्यस्ता साथी हुन्, जसको साथले पच्चीस वर्षयता मनलाई एक किसिमको भरोसा, निर्भयता र आत्मीयता प्रदान गर्दै आएको छ। उत्साह र निडरताले भरिएको उनको व्यक्तित्व कुनै भरतपुरको बिहानझैँ उज्यालो छ, जहाँ लक्ष्यप्रति समर्पण धूलो झैं हलुका र कर्तव्यप्रति प्रतिबद्धता पहाडझैँ अडिग देखिन्छ।

विद्यार्थी राजनीतिबाट अघि बढ्दै उनले पेसागत जीवनमा जति दृढतापूर्वक पाइला टेके, त्यति नै सहजतापूर्वक उनी जिम्मेवारी बोक्न सक्षम भएको प्रमाण आजसम्मका उनका कामहरूले दिन्छन्। सोताङ पब्लिक क्याम्पसमा क्याम्पस प्रमुखको रूपमा कमाएको प्रतिष्ठा र अहिले ओखलढुंगा क्याम्पसमा सम्हालिरहेको नेतृत्व दुवै उनको क्षमता, विवेक र कर्मठता झल्काउने दरिलो परिचय हुन्।

प्रशासनिक व्यस्तताका बीच पनि अध्यापनलाई नछाड्ने उनका बानीहरूले उनलाई केवल नेतृत्वकर्मी मात्र होइन, शिक्षाप्रति आस्था राख्ने शिक्षकको रूपमा पनि उभ्याउँछन् । समयसँगै सिकाइमा प्रविधि मिसाउने उनको चाहना भनेको हावाले उडाएको सपना होइन, निरन्तर अभ्यासबाट निखारिएको सजग दृष्टिकोण हो। तर यी सबै भन्दा पर, उनलाई विशिष्ट बनाउने कुरा एकै हो उनको सहयोगी भावना। उहाँ साथी मात्र होइन, परिस्थितिले जब मन थिचिन्छ, जीवनले जब घुम्ती मोड्छ, तब साथमा एकदमै शान्त तर दृढ उपस्थित रहने आत्मीय मान्छे हुन् ।

साहित्यमा भनिन्छ, “मान्छे हाम्रा घर होइन, बाटोका दियो हुन्” इन्द्रप्रसाद ती दियामध्ये एक हुन्, जो धेरै नसके पनि हेरिरहे मात्र घाम लागेजस्तो लाग्ने । उनको यात्रामा अझ धेरै सफलता, अझ धेरै परिपक्वता, र अझ धेरै उज्यालोहरू दस्तुर बनून्—यही मेरो शुभकामना। आफ्नै मिहिनेत, नेतृत्व र मानवीयताको बलमा उ अझ ठूलो उचाइमा पुगून्, किनकि योग्यताको बाटो पहिल्याउनेहरूलाई जीवनले सधैँ नयाँ क्षितिजहरू उपलब्ध गराइरहन्छ ।

हेरम्बराज बास्तोला, महेन्द्ररत्न क्याम्पस ताहचल

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top